दफा २४
मालवस्तु भन्सार कार्यालयमा आइपुग्नु अघि महसुल निर्धारण गर्न सकिने
(१) कुनै पैठारीकर्ताले पैठारी गर्ने मालवस्तु सम्बन्धित भन्सार कार्यालयमा आइपुग्नु अघि सो मालवस्तुमा लाग्ने महसुल बुझाउन चाहेमा सोको लागि सो मालवस्तु सम्बन्धी दफा १८ बमोजिमको कागजात संलग्न गरी प्रज्ञापनपत्र भरी भन्सार अधिकृत समक्ष निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा त्यसरी महसुल लिन मनासिब देखिएमा भन्सार अधिकृतले दफा २२ बमोजिम महसुल निर्धारण गरिदिन सक्नेछ । त्यसरी निर्धारण भएको महसुल पैठारीकर्ताले भन्सार कार्यालयमा बुझाउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम निर्धारण भएको महसुल दर वा परिवत्र्य विदेशी मुद्राको विनिमय दर महसुल बुझाएको दिन र मालवस्तु जाँचपास हुँदाको दिनमा फरक पर्न गएमा मालवस्तु जाँचपास हुँदाको दिन कायम रहेको दर लागू हुनेछ ।

(४) जुन मालवस्तुका सम्बन्धमा उपदफा (२) बमोजिम महसुल बुझाइसकिएको हो सो मालवस्तु भन्सार कार्यालयमा आइपुगेपछि सो कार्यालयले त्यस्तो मालवस्तुको आवश्यक प्रक्रिया प्राथमिकतासाथ पूरा गरी त्यस्तो मालवस्तु जाँचपास गरिदिनु पर्नेछ ।